काठमाडौं, २४ असार। नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाभित्र जारी विवाद समाधानको लागि प्रयास भइरहेको छ।
यसअघि मंगलबार भएको दुई अध्यक्षको भेटमा छलफल जारी राख्ने र स्थायी समिति बैठक सुरू गर्ने भनिएको थियो। तर अझै सहमति हुन नसकेको भन्दै आज बस्ने भनिएको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ। दुई अध्यक्षबीच बिहान टेलिफोनमार्फत् कुराकानी भएपछि बैठक स्थगित भएको हो।
स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन।दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन।
अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् भने ओलीले दुबै पद नछाड्ने अडान राखेका छन्।



लोकपाटी न्यूज

