काठमाडौं, २३ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफल सकिएको छ। दुई जनाको छलफलपछि स्थायी समिति बैठकलाई निरन्तरता दिने सहमति भएको छ। आजको बैठकमा अध्यक्षद्वयबीच वान टु वान वार्ता जारी राख्ने र स्थायी कमिटी बैठक पनि अघि बढाउने समझदारी भएको छ।
झण्डै तीन घण्टा चलेको भेटवार्ताले भोलि (बुधबार) स्थायी कमिटी चलाउने सहमति भएको हो। प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले भने,‘दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक भएको छ। भोलि स्थायी कमिटी बैठक राख्ने र त्यो भन्दा अगाडि दुई अध्यक्ष बीच फेरि वार्ता हुनेछ।’
उनका अनुसार, स्थायी कमिटीमै पार्टीभित्र देखिएको समस्याबारे छलफल हुनेछ। १८ असारमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक अनिश्चित हुँदै आएको छ।



लोकपाटी न्यूज

