ओली-प्रचण्डबीचको छलफल सकियो

KP_Oli_Prachanda
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, २२ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ। दुई अध्यक्षबीच बालुवाटारमा झण्डै डेढ घण्टा छलफल चलेको थियो।

स्रोतका अनुसार केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने विषयमा छलफल केन्द्रीत रहेको थियो। ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन भने अर्का अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न सुझाव दिएका छन्। यसअघि दोस्रो तहका नेताहरुसहित बैठक बसेका ओली र दाहालबीच सोमबार एक्ला एक्लै छलफल चलेको हो।

यसअघिको छलफलहरु एक अर्कालाई दोषारोपणमा सीमित भइरहेको भए पनि आजको वैठक भने विषयबस्तुतर्फ प्रवेश भएको जनाइएको छ। पार्टीभित्रको विवाद चरम बनिरहेका बेला सोमबार दुई अध्यक्षबीच भएको वार्तामा पहिलोपल्ट विषय केन्दित भएको स्रोतले जानकारी दिएको छ।

दुई अध्यक्षबीचको तनाव कम गरेर साझा धारणा बनाउन भन्दै विष्णु पौडेल, शंकर पोख्रेल, जनार्दन शर्मा र वर्षमान पुन सम्मिलित चार सदस्यीय अनौपचारिक कार्यदल गठन भएको छ।पार्टीभित्रको विवाद समाधानको लागि छलफललाई निरन्तरता दिन दुवै अध्यक्ष सहमत भएका ओलीको निजी सचिवालयले जनाएको छ।