काठमाडौं, २१ असार। पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन्।
राष्ट्रपति भण्डारी विरुद्धसमेत षडयन्त्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएपछि त्यसबारे स्पष्ट पार्न प्रचण्ड लगायतका नेताहरु शितलनिवास पुगेका हुन्। पार्टीकै केही नेताहरूले राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी गरिरहेको हल्ला चलाइएपछि त्यसबारे स्पष्ट पार्न उनीहरू शितलनिवास गएको बुझिएको छ।
स्थायी समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि नेकपामा बढेको विवाद सतहमा आएको छ। सोही विवादका बीच एउटा पक्षले राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी गरेको पार्टी भित्रै हल्ला भएको थियो।
यस विषयमा स्पष्ट पार्न प्रचण्डसहितका नेताहरू आज शितल निवास गएको बुझिएको छ। यधपि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार राति नै प्रधानमन्त्री ओलीको भनाइको खण्डन गरेका थिए।



लोकपाटी न्यूज

