नेकपामा विधि–पद्धतिका पक्षमा मोरङकाे पार्टी कार्यालयमा धर्ना

106244511_569596007057447_5641680856862057888_n
लोकपाटी न्यूज

काठमाडौं, २० असार। नेकपाका नेताहरुलाई विधि र पद्धतिमा राख्न दवाव दिन मोरङमा नेकपाका युवा कार्यकर्ताहरुले धर्ना दिएका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टी एकता संकटमा परेको भन्दै उनीहरुले दवाव दिएका हुन्।

नेकपानिकट अनेरास्ववियू र राष्ट्रिय युवा संघका नेताहरुले जिल्ला पार्टी कार्यालय मोरङमा धर्ना दिएका हुन्। अनेरास्ववियूका केन्द्रीय सदस्य बसिम आलम र राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य ईश्वरी आचार्यको नेतृत्वमा रहेका युवाहरुले जिल्ला कार्यालयमा धर्ना दिएका हुन्। धर्नामा युवा र विद्यार्थीका नेताहरु सहभागी छन्।

धर्नामा सहभागी युवाहरुले एउटा व्यक्तिको हठका कारण पार्टीको एकता नै संकटमा परेको भन्दै प्रधानमन्त्री ओली सच्चिनुपर्ने माग गरेका छन्। ‘व्यक्तिभन्दा पार्टी ठूलो हो, एउटा व्यक्तिको हठले पार्टीको अस्तित्व नै संकटमा पर्न सक्दैन।’ देशको प्रधानमन्त्रीले नै विधिको पालना नगरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन्। पार्टी एकताका पक्षमा नेताहरुलाई दवाव दिन भर्ना दिन बाध्य भएको उनीहरुको तर्क छ।

धर्नामा सहभागी युवा–विद्यार्थीहरुले पार्टीको संस्थागत निर्णय मान्न र आफ्ना कमजोरी सच्चाउन प्रधानमन्त्री ओलीलाई खबरदारीसमेत गरेका छन्। उनीहरुले पार्टीभित्रको आन्तरिक बहसको विषयलाई लिएर सत्ता पक्ष नै सडकमा जानु लोकतन्त्रको उपहास भएको धारणा व्यक्त गरेका छन्। पार्टी विवादलाई सडकमा छताछुल्ल पार्दा त्यसले प्रतिक्रयावादीहरुको सेवा गर्ने भन्दै उनीहरुले आक्रोश पोखेका हुन्।

‘प्रधानमन्त्री देशको अभिभावक हो। उहाँ पार्टीको अध्यक्ष पनि हो। उहाँजस्तो जिम्मेवार मान्छेले कार्यकर्ता उचालेर सडकमा रमिता देखाउन मिल्दैन’ धर्नामा सहभागी एक विद्यार्थी नेताले भने, ‘पार्टीको संस्थागत निर्णय नमान्ने, पार्टीभित्रको विवादलाई लिएर अराजनीतिक गालीगलौज गर्ने जुन खालको प्रवृत्ति देखिएको छ, जसले कम्युनिष्ट आन्दोलनलाई फाइदा गर्दैन। फुटका पक्षमा रहेका नेताहरुलाई खबरदारी गर्न धर्ना दिएका हौं।’

106297789_202120211106804_9095602203359580416_n

नेकपाको स्थायी समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीले विधि र पद्धति नमानेको, सरकार तस्कर र भ्रष्टहरुको लाचार छायाँ बनेको, सरकार पूर्णतः असफल भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेपछि प्रधानमन्त्रीनिकट समूह सडकमा ओर्लिएको छ। सडकमा ओर्लिएको समूहले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुमाथि अश्लिल गाली गरिरहेका छन्।

प्रधानमन्त्री ओली स्वयंले आफूनिकट कार्यकर्तालाई बोलाएर पार्टीकै नेताहरुका विरुद्ध सडक आन्दोलन गर्न निर्देशन दिएपछि नेकपाभित्रको एकता संकटमा परेको छ। ओलीले पार्टी फुटाउनेसम्मको तयारी गरिरहेको भन्दै नेताहरुले त्यसको आलोचना गरेका छन्। पार्टीभित्रको विवादलाई लिएर प्रधानमन्त्रीकै कार्यकर्ता सडकमा आउन दूर्भाग्यपूर्ण भएको धर्नामा सहभागी युवाहरुले प्रतिक्रिया दिएका छन्।

२०३६ सालको विद्यार्थी आन्दोलनलाई दमन गर्न पञ्चायती शासकहरुले राष्ट्रवादी विद्यार्थी मण्डल बनाएका थिए। जनताको आवाजलाई प्रतिबन्ध लगाउन शासकहरु नै सडक आएको उक्त घटना नेपाली राजनीतिमा मण्डले प्रवृत्तिका रुपमा स्थापित छ। प्रधानमन्त्री र उनका समर्थकहरुको कदम मण्डले प्रवृत्ति भएको भन्दै वाम बुद्धिजीवीहरुले समेत कटाक्ष गर्न थालेका छन्।