काठमाडौं, २० असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ। शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन्। प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको छ ।
ओलीले आफ्नो सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल बढेको अभिव्यक्ति दिएपछि जारी स्थायी समिति बैठकमा ओलीको चर्को आलोचना भएको थियो भने उनको प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा माग भएको छ।
यही विवादका कारण ओली एकातिर र अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ नेता अर्कातिर भएका छन्। पार्टीभित्र विवाद उग्र रुप लिँदै विभाजनको रेखा कोरिँदै गएको सन्दर्भमा नेताहरुबीच सहमतिको प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।



लोकपाटी न्यूज

