ओली–प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल

KP_Oli_Prachanda
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, १९ असार। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ।दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म छलफल भएको हो।

बैठकबारे जानकारी दिँदै नेता जनार्दन शर्माले लाेकपाटीसँग भने, ‘दुवै अध्यक्षबीच खुला खुला छलफल भएकाे छ। तर, कुनै ठाेस सहमति भएकाे छैन। भाेलि बिहान स्थायी समितिकाे बैठक बस्नुअघि एकपटक फेरि छलफल गरेर सहमतिकाे प्रयास हुन्छ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ। पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए। नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ। त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन्।