काठमाडौंमा भाषण गरेर बस्ने प्रवृत्तिले नेविसंघ कमजोर बन्यो : देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज

काठमाडौं, १९ असार। नेविसंघ नेतृत्वप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसङ्घले सङ्गठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन्।

नेविसंघले काठमाडौंमा भाषण गरेर बस्ने प्रवृत्तिले संघ कमजोर बनेको भन्दै देउवाले आक्रोश व्यक्त गरे। अहिले गाउँका कुनै पनि स्कूलमा नेविसङ्घ नरहेको र जित्ने हैसियत नेविसङ्घले नराखेको भन्दै आक्रोशित भए। पहिला गाउँ र स्कूलमा गएर नेविसंघ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिए।

उनले अहिले नेविसंघभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताए। उनले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताए। चार पटक प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको बताए।

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्नसमेत गरे। उनले कहिलेकाँही कार्यक्रम नगरे पनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश व्यक्त गरे।