काठमाडौं, १९ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफूविरुद्ध मोर्चाबन्दी भएपछि सडक आन्दोलन चर्काउन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन्। बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन्।
पार्टीभित्र अल्पमतमा रहेका ओलीले सरकारमाथि संकट गहिरिँदै गएपछि युवा विद्यार्थीहरुलाई उकासेका हुन्। केपी ओलीको मध्यरातको निर्देशनपछि युवा विद्यार्थीहरुले देशव्यापी आन्दोलन चर्काउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदर्शनलाई काठमाडौंमा मात्र सीमित नगरी देशव्यापी बनाउन निर्देशन दिएको श्रोतले बताएको छ।
स्थायी समितिमा आफूविरुद्ध मोर्चाबन्दी भए पनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट पछि नहट्ने अडान लिएका छन्। तर प्रचण्ड नेपाल समूहले ओलीलाई जसरी पनि राजीनामा दिन बाध्य पार्ने रणनीति लिएका छन्। प्रचण्ड नेपाल समूहले स्थायी समितिमा शक्ति प्रदर्शन गर्दै आफूविरुद्ध मोर्चाबन्दी गरेपछि ओलीले सडक आन्दोलन चर्काउने बाटो रोजेका हुन्।



लोकपाटी न्यूज

