-विद्या सागर पाण्डेय
कुनै समय एउटा सुन्दर गाउँमा निम्न मध्यम वर्गका किसानहरु बस्ने गर्दथे। गाउँ सानो थियो उनीहरु आलो-पालो, ऐचो-पैचो, अरिम-परिम गर्दै जीवनयापन गर्दथे। कृषिमा आधारित जीवनयापन भएको हुनाले अधिकांश किसानहरुको गोठमा गोरु हुन्थे। सानो गाउँ र थोरै-थोरै जग्गा जमिन भएको हुनाले धेरैले एउटा मात्र गोरु पाल्दथ्ये र खेत बारी जोत्ने बेलामा अर्को घरको गोरुसँग हल बनाएर जोत्दथ्ये जसलाई उनीहरु बोलीचालीको भाषामा पाटेहल भन्दथे। पाटेहल सहकार्यको एउटा नमूना पनि थियो।
यसरी पाटेहल अभ्यास गर्दा थोरै जमिन हुने कृषकलाई वर्षभरी एक हल गोरु पाल्नु पर्ने बोझ कम हुने र खेतीपाती गर्न पनि पाइने हुनाले त्यस गाउँमा यो अभ्यासले निरन्तरता पाइरहेको थियो। यो अभ्यासका केहि फाईदासँगै केहि बेफाइदा पनि थिए। छुट्टा छुट्टै घरमा पालिने हुनाले गोरुहरु खेत र बारी जोत्ने बेलामा हल बनाउदा जुधेर दुःख दिने गर्दथे। कहिले काँही हलो, जुवा भाँच्दथ्ये जसले गर्दा समयमा मेलो पनि भ्याइदिनथ्यो र किसानहरु यो समस्याको समाधान पनि खोजिरहेका थिए। उनीहरुले त्यो समस्या समाधान गर्न एउटा उपाय निकाले अब एउटा मात्र गोरु पाल्नुको सट्टा एक हल गोरु पाल्ने र एउटै गोठमा बाधेपछि गोरु पनि नजुध्लान, हलो जुवा पनि नभाचिएला, मेलो पनि समयमा सकिएला र उत्पादनसँगै समृद्धि पनि प्राप्त होला भन्ने निस्कर्षसहित थप लगानी परिश्रमको बोझ उठाउदै किसानहरु एक हल गोरु पाल्न थाले। किसानहरुले मेहनतका साथ पालेका गोरुहरु हृष्ट-पुष्ट र बलिया थिए।
वर्षमा ५, १० दिन मात्र जोत्दा पुग्ने हुनाले गोरुलाई प्रयाप्त काम थिएन खाँदै बस्दै गर्दा गोरुमा मात चढ्न थाल्यो अब उनीहरु एउटै गोठमा बसेर एउटै भकारोमा खाएर एक आपसमा को शक्तिशाली बन्ने भन्ने होडमा लाग्न थाले। शक्तिशाली बन्ने होडमा गोरुहरुमा भित्र भित्रै अहंकारी प्रवृत्ति मौलाउन थाल्यो फलस्वरूप द्वन्द सुरु हुन लाग्यो जसले गर्दा उनीहरुले आपसमा मिलेर जोत्नु पर्ने मेलो जोत्नुको सट्टा मेलो नलिने, हलो, जुवा भाच्ने र गोठमै पनि जुध्ने गर्न थाले।
वर्षभरी घाँसपात, अन्न, पराल राम्रोसँग खुवाएर पालेका गोरुले किसानलाई सहयोग पुर्याउनुको सट्टा झन् दुःख दिन थालेपछि किसानहरु आर्जित बनेर उनीहरुले गोरुको विकल्प खोज्न छलफलको आयोजना गरे। यसरी वर्ष भरी गोरु पालेर कुनै पनि उपलब्धि नहुने निस्कर्षमा पुगेपछि कृषकहरुले गोरुको सट्टा ट्याक्टरले जोत्ने र अबदेखि गोरु नै नपाल्ने समेत निर्णय गरे। त्यसपछि गाउँका किसानहरु आपसमा मिलेर ट्याक्टर किने र गोरुहरुलाई गाउँबाट धेरै टाढा लगेर छोडे अब गोरुहरु ओत लाग्ने गोठ,घाँसपात, अन्न, परालसबै सुबिधा बञ्चित भए र साँढे जस्तै सडकमा लुखुर लुखुर हिडेर प्राण धान्न बाध्य भए। किसानहरु समयमै उचित बिकल्प पहिचान गरेकोमा दङ्ग हुँदै समृद्धिको यात्रामा सुखी जीवन बिताउन थाले।



लोकपाटी न्यूज

