काठमाडौं, १८ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याउने तयारी गरेका छन्। पार्टी विभाजन गरेरै भए पनि सरकार नछोड्ने रणनीति अपनाएका छन्। नेकपा उच्च स्रोतले जनाएअनुसार पार्टीबाट बहुमत गुमाएका उनले सरकार नछाड्न पार्टी विभाजन गर्ने गरी रणनीति अख्तियार गरेका हुन्।
नेकपा स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषदबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुको पछाडि पनि उनको रणनीति प्रष्ट भएको छ। उनले यसअघि ल्याएको पार्टी विभाजनको अध्यादेश संसद अधिवेशनको अन्त्यसँगै पुनः ल्याउनेछन्। यसअघि कोरोना संकटकै बीच अध्यादेश ल्याएका थिए।
प्रधानमन्त्री ओलीले कोरोना संकटका बीच गत वैशाख ८ मा पार्टी फुटाउन सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। पार्टी विभाजन गर्न सहज हुने खालको उक्त अध्यादेशमा दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था थियो। नेकपाभित्र चर्किरहेको विवादका बीच ल्याइएको अध्यादेश चौतर्फी विरोध पछि फिर्ता भएको थियो।



लोकपाटी न्यूज

