पार्टीले दवाव नदिँदासम्म ओली नक्शा जारी गर्न तयार थिएनन् : झलनाथ खनाल

Jhala-Nath-Khanal-
लोकपाटी न्यूज

काठमाडौं, १७ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। मंगलबारको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल प्रचण्डसहितका १७ जना नेताहरुले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए।

त्यही क्रममा नेकपाका वरिष्ठ नेता हो झलनाथ खनाल झोक्किएका। आफूलाई नक्सा सार्वजनिक गरेको कारण हटाउन लागिएको तर्क गर्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई झलनाथले झर्किंदै जवाफ फर्काए। आइतबार ओलीले दिएको विवादास्पद अभिव्यक्तिपछि झलनाथले चर्को स्वरमा आफ्नै शैलीमा ओलीलाई थर्काएका थिए।

‘तपाईंले हामीलाई भारतीय एजेण्ट भन्ने ? तत्काल राजीनामा दिनुस्। राजीनामाको विकल्प छैन। तपाईंले गुट पनि राम्रोसँग चलाउन सक्नुभएन ’, उनले भने। झलनाथले भने, ‘नक्सा छाप्ने कुरामा नमान्ने तपाईं हैन ? यहाँ ठूला कुरा गर्ने ? बैठकमा भएका कुरामा अरुलाई ढाँट्नुहोला। हामीलाई ढाँट्न सक्नुहुन्छ  ?’

उनी रोकिएनन्। ‘तपाईंलाई अब पदमा बसिरहने कुनै नैतिक अधिकार छैन। त्यसमाथि अहिले जुन ढंगले भारतलाई मिसाएर पार्टीका सारा नेताहरूलाई एजेण्ट बनाउने गरी बोल्नुभो, यो गम्भीर, आपत्तिजनक र अनैतिक छ। तपाईंले भारतसँग वार्ता गरेर भूमि फिर्ता गर्न पनि सक्नुहुन्न। अब पनि तपाईंले पदमा बस्न मिल्दैन, दुवै पदबाट राजीनमा दिनुस्।’

ओलीले बोलिरहँदा झलनाथले दुईपटक प्रतिवदान गरेका थिए। माधव नेपालले गरेको त्यागको प्रसंगमा ओलीले ओठे जवाफ फर्काए। ‘तपाईंहरूले त्यागको कुरा कसरी गर्नुहुन्छ ?,’ ओलीको प्रश्न थियो, ‘प्रचण्डले ३४ वर्षदेखि एकछत्र पार्टीमा शासन गर्ने, माधव नेपालले १६ वर्ष पार्टी महासचिव हुने, झलनाथले पनि दुईपटक गरेर १३ वर्ष पार्टी चलाएको हामीले हेरेकै हो। तपाईंहरूले त्याग भनेर अरूलाई नैतिकता सिकाउन मिल्दैन होला। बरु अब म प्रधानमन्त्री पनि हुन्नँ, पार्टी अध्यक्ष पनि चाहिँदैन, चुनाव नै लड्दिनँ।’

झलनाथले बोले। ‘अब त जिते पो लड्नु,’ खनालले यति भन्न नभ्याउँदै ओलीले पनि जवाफ फर्काइहाले, ‘तपाईंको पनि हविगत नबुझेको होइन ।’ झलनाथ बोल्दाबोल्दै ओलीले बैठक स्थल छाडिसकेका थिए।