ओलीलाई आफ्नै गल्ती सच्चाउन समर्थक नेताहरुकाे सुझाव

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं, १७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री तथा नेताहरुसँग आज परामर्श गरेका छन्। परामर्शका लागि बोलाएका मन्त्रीले कमिकमजोरी सच्याएर अघि बढ्न सुझाएका हुन्।

ओलीलाई उनी पक्षका मन्त्री तथा नेताहरुले अलि फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न सुझाव दिएको बैठकमा सहभागी नेता सुवासचन्द्र नेम्बाङले बताए। नेता तथा मन्त्रीहरुले ओलीलाई अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका छन् ।

मन्त्री योगेश भट्टराईले छलफलमा सहभागी भएका सबै नेताहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गरी पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक भावनाको विकास गर्न ओलीलाई सुझाव दिएको बताए।

उनले अवस्था सकारत्मक दिशामा जाने आश रहेको बताएका छन् । पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका हुन् ।

को-को सहभागी थिए परामर्शमा ?

ओलीले छलफलका लागि प्रचण्ड पक्षका मन्त्रीलाई बोलाएका थिएनन्। ओलीसँगको परामर्शमा मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषालसहित सहभागी थिए। यस्तै नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, किरण गुरुङ, शंकर पोखरेलसहित सहभागी थिए।