एजेन्सी। अमेरिकामा कोरोना संक्रमित दैनिक एक लाख पुग्ने विज्ञको चेतावनी दिएका छन्। अमेरिकाका संक्रामक रोगका एकजना वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भइरसको संक्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको बताएका हुन्।
आउँदा दिनहरू अमेरिकाका निम्ति थप चुनौतीपूर्ण हुने उनको ठम्याइ छ। थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात् दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ।
अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन्। उनले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिए। अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरूमा सङ्क्रमण बढिरहेको बीबीसीले उल्लेख गरेको छ ।
डा. फाउचीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिए। त्यस क्षेत्रका १६ वटा राज्यले व्यवसाय र कारोबार खोल्ने आफ्नो पूर्व योजना स्थगित वा फिर्ता लिएको समाचार संस्था सीएनएनले जनाएको छ।
डा. फाउचीका अनुसार देशका केही भागमा रोकथामको राम्रो काम भइरहे पनि देशको एउटा भागमा प्रकोप रहँदा अरू पनि जोखिमा परेका छन्। उनले सबै अमेरिकीलाई निस्शुल्क वितरण गर्ने गरी मास्क उत्पादन गर्न अमेरिकी सरकारलाई आग्रह पनि गरे। डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वार जो बाइडले कोरोनाभाइरस महामारीसँग जुध्न सरकारले चालेका कदमको चर्को आलोचना गरेका छन्। उनले त्यसको निम्ति राष्ट्रपति डोनल्ड ट्रम्पलाई निशाना बनाए।



लोकपाटी न्यूज

