‘प्रधानमन्त्री ओली आफैले आफैलाई हटाउन कस्सिएर लाग्नु भएको छ’

Dr. Prakash Chandra Lohani
लोकपाटी न्यूज

काठमाडौं, १५ असार। राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पदबाट आफूले आफैलाई हटाउन प्रधानमन्त्री केपी शर्माले ओली कस्सिएर लागेको बताएका छन्।

नेपालको नयाँ नक्सा जारी गरेबापत आफूलाई हटाउन स्वदेशी तथा विदेशी मिलेर लागेको प्रधानमन्त्रीको आरोपप्रति टिप्पणी गर्दै लोहनीले यस्तो बताएका हुन्।

लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईंलाई हटाउने प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो। तपाईंको विश्लेषण गलत छ किनभने तपाईंलाई हटाउन तपाईं आफै कसिएर लाग्नु भएको छ, एक पटक शान्त भएर आफूले आफूलाई हेनुहोस् थाहा पाउनु हुनेछ।’

‘ठीक कुरामा जनता र दलहरुले तपाईंलाई सधै साथ दिएका छन्। तपाईंले भद्र–भलादमी प्रतिपक्ष पाउनु भएको छ। नयाँ नक्साको बारेमा तपाईंको पाटी र अन्य सबै पार्टी  तथा आम नेपाली जनताले तपाईंलाई साथ दिएका छन्।

विचार गर्नुहोस्, कुनै विदेशीको मुख हेरेको भए यो एकता सम्भव हुने थिएन,’ उनले थप लेखेका छन्, ‘संसदबाट सीमासम्बन्धि प्रस्ताव निर्वाचित पारित हुने थिएन। यो देख्दादेख्दै अरुलाई बिदेशीबाट सञ्चालित भन्नु तपाईं बाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो। यो भनाईले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ। आफू बाहेक अरु सबैलाई विदेशीबाट सञ्चालित छन् भन्ने दृष्टिकोण तपाईंको कमजोर र हतास मनस्थितिको परिचय हो।’

लोहनीका अनुसार श्री ३ शैलीको अधिनायकवादी र सव-सत्तावादी संस्कार, भ्रष्टाचारलाई राजनीतिको प्रमूख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देस जति लुटे पनि लुट्न भने र छुट दिने तपाईंको नव सामन्ती प्रवृत्तिका कारण प्रधानमन्त्रीको विरोध भइरहेको हो। लोहनीले प्रधानमन्त्रीका शुभ चिन्तकहरु पनि ओलीबाट देश चल्दैन भन्ने निचोडमा पुगिसकेको बताएका छन्।