नयाँ दिल्ली, १४ असार। भारतमा गएको २४ घण्टामा १९ हजार ९०६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै भारतमा कुल संक्रमितको संख्या पाँच लाख २८ हजार ८५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या प्रतिदिन बृद्धि हुदै गएको छ। विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको देखिएको छ।
कतिपय देशहरुमा संक्रमितको संख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दुई लाख तीन हजार ५१ पुगेको छ।
त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भई घर फर्केकाहरुको संख्या तीन लाख नौ हजार ७३१ पुगेको अधिकारीहरुले जनाएका छन्। भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण ४१० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। योसँगै कुल मृतकको संख्या १६ हजार ९५ पुगेको जनाइएको छ।



लोकपाटी न्यूज

