अस्मिना पाण्डे/ बुटवल, ११ असार। प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले सञ्चार क्षेत्रको समस्याको बारेमा ५ नं. प्रदेश सरकार जानकार रहेको बताएका छन्। उनले प्रदेश सरकार आफै समस्यामा रहेकोले सञ्चार माध्यमलाई एथेष्ट सहयोग गर्न नसकेको बताए।
बुटवलबाट प्रकाशित जनसंघर्षको ३१ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरिएको ‘कोभिड-१९ सञ्चार क्षेत्रमा पारेको प्रभाव’ विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै मन्त्री केसीले आफूहरुले सञ्चार माध्यमका समस्या बारेमा अध्ययन गरिरहेको र छिट्टै राहतका कार्यक्रमहरु अगाडि बढाइने बताए।
उनले पत्रकारहरु कोभिड-१९ विरुद्ध फ्रन्ट लाईनमा दौडिरहेको अवस्था देखेर ५ नं. प्रदेशका ६ सय क्रियाशील पत्रकारहरुको कोरोना बीमा गरिएको बताउँदै आगामी दिनमा क्रमशः सहयोग गर्दै लैजाने प्रतिवद्धता जनाए।
फरक प्रसंगमा बोल्दै मन्त्री केसीले प्रदेश सरकारको अथक प्रयासमा प्रदेश ५ मा कोरोना नियन्त्रण भएको भन्दै उनले प्रदेश सरकार नभएको भए कोरोना नियन्त्रण र उपचारमा गम्भीर समस्या उत्पन्न हुने जिकिर गरे।
उनले भने –‘स्थानीय सरकारले एक्लै कोरोना नियन्त्रणमा राम्रो उपलब्धि प्राप्त गर्न कठिन हुने थियो र केन्द्रले पनि पालिकाहरुलाई नियमन गर्न सक्ने थिएन। प्रदेश सरकारको पहलले कोरोना नियन्त्रणमा मद्दत पुग्यो।’ उनले प्रदेश सरकार पनि कमजोर अवस्थामा रहेको बताउँदै राजस्व अत्यन्तै न्यून भएको बेला सहुलियत प्रदान गर्न गाह्रो भइरहेको बताए। उनले लकडाउन र कोरोनाले धैरै कुराको पाठ सिकाएको बताउँदै यसले मानिस– मानिस बीचमा पनि सकारात्मक सोचको विकास हुने बताए।
उनले प्रदेश सरकार भविष्यमा आउने संकटलाई हेरेर अगाडि बढ्ने बताउँदै कोरोनाको यो समयमा सेवा सुविधा भन्दा पनि कसरी प्रदेशलाई अब्बल बनाउने भन्नेमा आफुहरु लागेको बताए। उनले भने –‘महामारी भनेको ठूलो युद्ध हो। अबको समय कसरी अगाडि बढ्ला भन्ने भन्दा पनि कसरी अब्बल बन्न सकिन्छ ? भन्ने हो। ’
कार्यक्रममा बोल्दै जनसंघर्षका संस्थापक सम्पादक तथा प्रकाशक अधिवक्ता बालकृष्ण चापागाईंले जनसंघर्षको संक्षिप्त इतिहास बताउँदै कोरोनाको कारणले सञ्चार जगत निकै मारमा परेको बताए। उनले जनतालाई सूचना प्रवाह गर्ने सञ्चार माध्यम नै विज्ञापनबिहीन भएको बताउँदै सञ्चार माध्यम बचाउनको लागि प्रदेश सरकारले अविलम्ब कदम उठाउनु पर्ने माग गरे।
उनले जनतालाई सुसूचित गर्ने सञ्चार माध्यमलाई खर्च चलाउन गाह्रो भइरहेको बताउँदै पत्रकार तथा कर्मचारीलाई तलब दिन धौ–धौ भएको अवस्था भएको र यस्तो कठिन परिस्थितिमा सञ्चार माध्यम जोगाउनमा सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए।
उनले ३० वर्ष अगाडिदेखि धेरै दुःख कष्ट र चुनौतीको सामना गर्दै जनसंघर्षलाई निरन्तरता दिएको बताए।
वरिष्ठ साहित्यकार तथा पूर्वसांसद रामचन्द्र भट्टराईले जनसंघर्षलाई नियमित रुपमा प्रकाशित गरिरहँदा निकै समस्या आइपरेको उल्लेख गर्दै यसले धेरै उतारचढाब भोगेको बताए। जनसंघर्षले काठमाडौं बाहिर पत्रकारितामा व्यवसायिक जग बसालेको उल्लेख गर्दै अब मोफसलका सञ्चार माध्यमलाई बचाउन सबैको पहल आवश्यक रहेको बताए।
यस्तै संविधान सभा सदस्य तथा नेकपाका नेता नेत्र प्रसाद पन्थीले नेपाल जस्तो भूपरिवेष्ठित र सानो भूगोल रहेको मुलुकमा जनसंघर्षको ठूलो योगदान रहेको उल्लेख गरे। उनले संस्थापक सम्पादक बालकृष्ण चापागाईंले निकै मिहिनेत गरेर पत्रिकालाई यहाँसम्म ल्याएको बताए। संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले प्रदेश सरकारले सञ्चार जगतलाई बचाउन विशेष पहल गर्न आग्रह गरे। उनले यस्तो अवस्थामा पत्रकार महासंघ र प्रदेश सरकारको समन्वयमा सञ्चार जगतलाई बचाउने खालका निर्णय हुनु पर्नेमा जोड दिए। यसैगरी जनसंघर्षका सञ्चालक तथा सल्लाहकार अनुपमान सैंजूले सञ्चार माध्यमहरु सञ्चालनका लागि लगानीसँगै कर्मचारी र पत्रकारको लगनशीलता र इमान्दारिता आवश्यक पर्ने बताए।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले जनसंघर्षले नेपाली पत्रकारितामा निकै ठूलो योगदान दिएको चर्चा गर्दै यसलाई अझ बलियो बनाउँदै निरन्तरता दिन विज्ञापनदाता तथा शुभेच्छुकहरुको महत्वपूर्ण भूमिका रहने बताए। नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले सञ्चार क्षेत्रका समस्यालाई सम्बोधन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए। नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार र सञ्चार माध्यमको हित र दिगोपनका लागि आफुहरु सक्रिय रहेको बताए। बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि अर्यालले कोरोनाका कारण व्यवसायीहरु संकटमा परेको बताए। रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले व्यापार क्षेत्र संकटमा परेकोले सरकारको ध्यानाकर्षण हुनु पर्ने बताए।
कार्यक्रममा जनसंघर्षका सम्पादक पम्फा खनाल चापागाईंले स्वागत मन्तव्य दिदैं ३० वर्षसम्म जनसंघर्षको संघर्षशील यात्रा चुनौतीपूर्ण रहेको बताइन्। जनसंघर्षका कार्यकारी सम्पादक सुमन अधिकारीबाट सञ्चालन एवं सहजीकरण भएको उक्त अन्तरसंवाद कार्यक्रममा राजनीतिज्ञ तथा लेखक झपेन्द्र जि.सी.,नेपाली कांग्रेसका युवा नेता युवराज गिरी, अकोराबका पूर्व अध्यक्ष मोहन चापागाईं,नेपाल पत्रकार महासंघ प्रदेश नं.५ का उपाध्यक्ष तथा रासस प्रदेश संयोजक भरत के.सी. यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्व अध्यक्ष कुमार थापा, समृद्धि सरोकार केन्द्रका अध्यक्ष तथा जनसंघर्षका सल्लाहकार गणेश घिमिरे, रिपोटर्स क्लब नेपाल प्रदेश नं. ५ का संयोजक राम कुमार क्षेत्री,नेपाल प्रेस यूनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाललगायत विभिन्न संघ–संस्थाका अगुवा नेतृत्वको उपस्थिति रहेको थियो।



लोकपाटी न्यूज

