काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा ७ वटा कार्यसूची पेश भएको छन्। बुधबार बालुवाटारमा बसेको बैठकमा प्रस्तावित कार्यसूची अध्यक्षको तर्फबाट महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए।
अध्यक्षद्धयबाट प्रस्तावित कार्यसूचीमा मन्तव्य, कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा उपचारतर्फ, नेपालको सीमा समस्या समाधान, सरकारको कामको समीक्षा, पार्टीको कामको समीक्षा, पार्टी एकीकरणको बाकी काम, अमेरिकी परियोजना एमसीसी र अन्य विविध कार्यसूची प्रस्तुत गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
त्यसबाहेक विविध एजेण्डामा भने रुकुम घटना, नागरिकता सम्बन्धी विधेयकमाथि छलफल हुने उनले जानकारी दिए। कार्यसूची अनुसार बैठकको प्रारम्भमा प्रधनमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने पहिलो एजेण्डा रहेको थियो। सोही क्रममा अध्यक्षद्वय ओली र प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने जिम्मेवारीको विषयमा मन्तव्य राखेका छन्।
नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र एमालेवीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएको गुनासो गरे। उनले आलोपालो प्रधानमन्त्री चलाउने कुरा शब्दमा उल्लेख नगरेता पनि जेठ २ को सम्झौता पालना नहुँदा पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको विश्लेषण सुनाए। प्रचण्डले भनेका छन्, ‘यसले गर्दा प्रधानमन्त्रीज्यूलाई पनि पार्टीले सरकारलाई सहयोग नगरेजस्तो लाग्ने, मलाई पनि उहाँ आफ्नै किसिमले चलेजस्तो लाग्ने।’
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राम्रै कामहरु भइरहेको बताए। केही कमीकमजोरीहरु भएका भए त्यसलाई स्वीकार्ने प्रधानमन्त्रीले बताएको बैठकपछि एक नेताले जानकारी दिए। उनले पार्टी र सरकारसामु चुनौतीहरु रहेकोले त्यसको समाना गर्न सबैले एकजुट हुनुपर्ने बताए। बुधबार अध्यक्षद्वयले सम्बोधन गरेपछि सकिएको बैठक असार १२ गते पुन बस्नेछ।



लाेकपाटी न्यूज

