काठमाडौं। सरकारले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको समयावधि थप्न अनुरोध गर्ने भएको छ। असार १६ गते भित्र एमसीसी सम्झौता संसदबाट पारित नहुने भएपछि सरकार उक्त निष्कर्षमा पुगेको बुझिएको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा एमसीसी सम्झौता अन्तर्गतका परियोजना समावेश गरेको छ। एमसीसी सम्झौता कार्यान्वयनको लागि संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार असार १६ गते भित्र एमसीसी संसदबाट पारित गर्नुपर्ने हुन्छ। तर सभामुख अग्निप्रसाद सापकोटाले असार १७ गते सम्मका लागि संसद् बैठक स्थगित गरेका छन्। एमसीसी सम्झौताको मिति टार्न बैठक पर सारेको सरकारको आरोप छ।
त्यसपछि सरकारले एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने समय अवधि थप गर्न अनुरोध गर्ने नयाँ रणनीति चालेको हो। त्यसका लागि सरकारले अमेरिकालाई पत्राचार गर्ने तयारी गरेको छ। एक अन्तरवार्तामा अर्थविद् रामेश्वर खनालले अर्थ मन्त्रालयले आज पत्र तयार गरी पठाउने जानकारी पाएको बताएका थिए। अर्थमन्त्री डा. युवराज खतिवडा पत्राचारमा लागिसकेको बुझिएको छ।


लाेकपाटी न्यूज

