बुधबार नेकपा स्थायी कमिटीको बैठक बस्दै

Nekapa_Sthayi samiti
लोकपाटी न्यूज

काठमाडौं, ९ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को स्थायी कमिटी बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुटारमा भोली (बुधबार) ११ बजेको लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए।

बुधबारको स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाएपनि एजेण्डाबारे आधिकारिक टुङ्गो नलागेको स्थायी समिति सदस्य भुषालले बताए। बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने छ।

सरकारका काम कारबाहीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेकपाको अन्तरिम पार्टी विधान अनुसार २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै पत्र बुझाएपनि वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो।

यस्तै, बैठकको तयारीका लागि भने आज बिहानैदेखि विभिन्न तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्। बैठकबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग छुट्टै भेट गरेका छन् भने अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसँग समेट भेटवार्ता गरेको जनाइएको छ।