काठमाडौं, ७ असार। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन बिना पारित नहुने बताएका छन्।
पार्टीले एमसीसीको बारेमा अध्ययन अनुसन्धान गरेर संशोधन गरेर मात्र पारित गर्नुपर्ने अडान कायमै रहेको बताउदै उनले कसैको चाहनाले देशको हित विपरीतको सम्झौता पारित हुन नसक्ने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले त पारित गर्नुपर्छ भन्ने अडानमा हुनुहुन्छ नि भन्ने जिज्ञासामा वरिष्ठ नेता खनालले भने,‘प्रधानमन्त्री ओलीले भन्दैमा एमसीसी पारित हुँदैन, पार्टीले संशोधन नगरी पारित गर्न नहुने अडानमा अडिक छ।’
एमसीसीको बारेमा हिजो बसेको सचिवालय बैठकमा कुनै छलफल नभएको बताउदै उनले असार १० गते बस्ने स्थायी समिति बैठकले एमसीसीको बारेमा निर्णय लिने बताए।
‘मेरो नेतृत्वमा बनेको कार्यदलले संशोधन विना एमसीसी पारित गर्न नहुने प्रतिवेदन सचिवालय बैठकमा बुझाएको छ, अध्ययन अनुसन्धान गरेर प्रतिवेदन दिएको हो, अहिलेकै अवस्थामा एमसीसी पारित गर्न मिल्दैन र हुँदैन’, नेता खनालले भने। न्यूज अफ नेपाल डट कमबाट



लोकपाटी न्यूज

