काठमाडौं, ७ असार। राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले असार १५ गतेसम्म विद्यार्थीको अभिलेखीकरण तथा भर्ना प्रक्रिया सम्पन्न गर्ने निर्णय गरेको छ। एसोसियसनको सम्पन्न जुम बैठकले यस्तो निर्णय गरेको गरेको हो।
विद्यालयले पर्याप्त सुरक्षाको व्यवस्था तथा भौतिक दूरी समेतलाई ध्यानमा राखेर शैक्षिक क्रियाकलाप अघि बढाउन निर्देशन दिएको छ। असार १ गतेदेखि वैकल्पिक कक्षा सञ्चालन गर्न तथा चालु शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनलाई अधि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनअनुसार असार महिनादेखि विद्यालयको आन्तरिक गतिविधि र वैकल्पिक कक्षा सञ्चालन गर्दै नियमितरुपमा शुल्क उठाइ शैक्षिक गतिविधि अघि बढाउने निर्णय पनि एसोसियसनले गरेको छ ।
भर्ना भएका विद्यार्थीलाई उपयुक्त माध्यमबाट पाठ्यपुस्तकलगायत आवश्यक शैक्षिक सामग्री उपलव्धताको व्यवस्थापन गर्ने, वैकल्पिक शिक्षण विधि सञ्चालन गर्नका लागि बैठकले पारित गरेको वैकल्पिक शिक्षण विधि निर्देशिका-२०७७ बमोजिम शिक्षण क्रियाकलाप अघि बढाउने तथा असहज परिस्थितिका कारण तत्काल कक्षा सञ्चालन हुन नसक्ने अवस्थामा पारित निर्देशिकाअन्तर्गत रही वैकल्पिक शिक्षण विधिबाट विद्यार्थीलाई सिकाइसँग जोडन सदस्य विद्यालयलाई सूचित गर्ने निर्णय बैठकले गरेको छ।
विद्यालय प्रशासनमार्फत् विद्यार्थी तथा अभिभावकलाई विद्यालयले सञ्चालन गर्ने भर्चुअल कक्षा सम्बन्धमा जानकारी गराउने, अनलाइन तथा अफलाइन कक्षा सञ्चालन विधि तथा प्रक्रियाका बारेमा शिक्षकलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने, विद्यालय क्षेत्र बाहिरका विद्यार्थीको पहिचान गरी सम्बन्धित स्थानमा उपलब्ध हुनसक्ने सञ्चारका माध्यमबाट विद्यार्थीको सिकाइ प्रक्रियालाई अघि बढाउने तथा स्थानीयस्तरमा भएका सबै प्रकारका सञ्चार माध्यमसँग सहकार्य गरी वैकल्पिक शिक्षण विधिलाई विद्यार्थीसमक्ष पुर्याउन प्रयत्न गर्ने लगायतका निर्णय भएको अध्यक्ष ऋतुराज सापकोटाले बताए।


लोकपाटी न्यूज

