बागलुङ, ६ असार। गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा घुम्टे बहुउद्देश्यीय सभा हलको शिलान्यास गरिएको छ। मल्म सप्ताहघाटमा निर्माण गर्न लागिएको सभा हलको गलकोट नगरपालिकाका नगर उपप्रमूख रेणुका काउचा मगरले शिलान्यास गरेकी हुन्। कार्यक्रममा बोल्दै नगर उपप्रमूख काउचाले सभा हल निर्माण कार्यले गलकोट नगरको विकास र समृद्धिमा इटा थप्ने बताइन्।
सामाजिक विकास सँगसँगै सभा, सम्मेलन, तालिम, गोष्ठी, सेमिनार, भेला गर्न पनि सहज हुने नगर उपप्रमूख काउचाले उल्लेख गरिन्। सभा हल निर्माण गर्न गलकोट नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर उपप्रमूख काउचाले प्रतिवद्धता व्यक्त गरिन्। उनले भनिन्र्, यो नगरकै गौरव भएकाले सबैको सहयोग अपरिहार्य छ। मौसम प्रतिकूल हुँदा होस् या घाम पानी जुनसुकै अवस्थामा पनि सभा हल निर्माण भएपछि वडासँगै नगर स्तरीय हरेक कार्यक्रमलाई यसले सहजता प्रदान गर्नेछ। सभा हल निर्माण गर्न गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७६र०७७ मा रु १५ लाख बजेट विनियोजन गरेको छ।
त्यस्तै घुम्टे युवा परिवार जापान शाखाले आर्थिक संकलन अभियान सञ्चालन गरेर नगद रु २ लाख सहयोग प्रदान गरेको छ भने थप बोल रकम प्राप्त हुने क्रममा रहेको जापान शाखा अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिए। सभा हलको लागि गलकोट नगरपालिका ७ मल्मका जनप्रतिनिधि लोक बहादुर थापा, समाजसेवी हरिदत्त गौतम, समाजसेवी दल बहादुर थापा, भक्त बहादुर थापा, कमला थापा र प्रकाश थापाले आवश्यक पर्ने झण्डै १ करोड मूल्य बराबरको साढे तीन रोपनी जग्गा निशुल्क प्रदान गरेका वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाले जानकारी दिए। वडा अध्यक्ष थापाका अनुसार सभा हल निर्माण स्थलसम्म पुग्नको लागि सडकको ट्रयाक समेत खोलिएको छ। सडक निर्माण गर्न स्थानीय हीरा कुमारी थापा, सुवेदार देव बहादुर थापा र भक्त बहादुर थापाले जग्गा प्रदान गरेका थिए।
गलकोट क्षेत्रमा हुने विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सामाजिक संस्था घुम्टे युवा परिवारले २०७५ सालको होली पूर्णिमा मेलाका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई माग पत्र प्रस्तुत गरेको थियो । निर्माण कार्य सम्पन्न गर्न मन्त्रालयले थप बजेट सहयोग गर्ने आश्वासन समेत दिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले बताए। उनले सभा हल निर्माणको लागि आवश्यक बजेट उपलब्ध गराउन स्थानीय तह र केन्द्रीय सरकारसँग पनि पहल गरिएको जानकारी दिए।
यस क्षेत्रमा सभा हलको आवश्यकता महशुस गरी दाताहरूसँग परामर्श गरेर निशुल्क जग्गा व्यवस्थापन गरिएको सभा हल जग्गा व्यवस्थापन समितिका संयोजक राम बहादुर थापाले जानकारी दिए। सभा हल निर्माण कार्य २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको संयोजक थापाको भनाइ छ। मल्म सप्ताहघाटमा निर्माण गर्न लागिएको सभा हल स्थलमा पुग्न मध्य पहाडी लोकमार्गबाट झण्डै १० मिनेटको यात्रा गरेपछि पुगिन्छ।



लोकपाटी न्यूज

