काठमाडौं। कोरियन एअरमार्फत् आज १६१ जना नेपाली कोरिया जाने भएका छन्। कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिया शाखाका अधिकृत बाबुराम घिमिरेले जानकारी दिए।
अहिले भिसा नभएका या नयाँ प्रक्रिया गरेर जानुपर्ने लगायत ईपीएस कोरिया शाखाबाट थप प्रक्रिया गर्नुपर्ने कोही पनि नेपाली कोरिया जान पाएका छैनन्। घिमिरेका अनुसार जुन १६ अर्थात गएको मंगलबार पनि १६८ नेपाली कोरिया फर्किएका छन्। उनीहरु पनि बिदामा नेपाल आएका र साथमा आधिकारीक भिसाको अवधि र श्रम स्वीकृति भएकाहरु नै हुन्।
‘उहाँहरु घुम्न या परिवारिक भेटघाटका लागि बिदामा नेपाल आउनुभएको र जोसँग अवधि भएको भिसा र श्रम स्वीकृति छ उहाँहरु मात्रै फर्कनु हुने हो,’ शाखा अधिकृत घिमिरेले भने,‘थप प्रक्रिया गरेर जाने नेपालीहरु यस उडानमार्फत् जान पाउनु हुने छैन।’
गएको वैशाख १४ गते मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो।
यस्तै, कोरियाबाट २२८ जना नेपाली काठमाडौं आइपुगेका छन्। कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन्। आफ्नै खर्चमा कोरियन एअरको चार्टर्ड उडानमार्फत् स्वदेश फर्किएका हुन् ।



लोकपाटी न्यूज

