काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फेरि सामान्य अवस्थामा फर्किँदै गरेको बताएका छन्। भारतको जनजीवन सामान्य हुँदै गएको उनले बिहीबार बताएका हुन्।
कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सरकारले लकडाउन घोषणा गरेकोले असामान्य बनेको जनजीवन अहिले सामान्य बन्न लागेको बताए। उनले व्यापारिक तथा आर्थिक गतिविधिहरु पनि तीब्र गतिमा बढ्दै गइरहेको बताए। लकडाउनका कारण उत्पादन, विक्री, माग र उपभोग पनि घटेकोमा अहिले फेरि बढ्न थालेको बताए। कोरोनाका कारण सिर्जित लकडाउनभन्दा पहिलाको जस्तै अवस्थामा पुग्न लागिसकेको पनि उनले बताए।
प्रधानमन्त्री मोदीले श्रोतहरुलाई उद्धृत गर्दै बताए अनुसार विद्युत तथा पेट्रोलियम पदार्थको माग पनि पहिला जस्तै हुन थालिसकेको छ । ‘यी सङ्केतहरुले के प्रष्ट पार्दछन् भने आर्थिक गतिविधि तथा जनजीवन पहिलाको जस्तै हुन लागिसकेको छ, हामी पहिलाकै अवस्थामा फर्किदैछौँ,’ उनले भने।
कोरोनाका कारण लकडाउन लगाउनु परेको र विगत केही समय ठूलो भारतको अर्थतन्त्रमा समस्या देखिएको तर वर्तमान सामान्य हुँदै गएको प्रधानमन्त्री मोदीको भनाइ थियो। भारतको प्रगति र बृद्धि सुनिश्चित भएको दावी गर्दै उहाँले भारतलाई आत्मनिर्भर बनाउने बताए। पिटिआई



लोकपाटी न्यूज

