काठमाडौं, २ असार। झण्डै एक महिनापछि न्युजिल्याण्डमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २४ दिनपछि पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित दुई जना भर्खरै बेलायतबाट फर्किएको र उनीहरु एक–अर्कासँग सम्बन्धित रहेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ती दुई व्यक्तिलाई एक मृत व्यक्तिको अन्तिम संस्कारमा बाहिरबाट आउनको लागि प्रतिबन्धमा छुट दिइएको थियो। न्युजिल्याण्डले गएको हप्तामात्रै देश कोरोना भाइरसमुक्त भएको घोषणा गर्दै सबै प्रतिबन्ध हटाएको थियो।
तर विदेशबाट न्युजिल्याण्डमा अन्तर्राष्ट्रिय यात्रामा अझै पनि प्रतिबन्ध लगाइएको छ र केवल त्यहीँका नागरिक र अत्यावश्यक कर्मचारीलाई देश फर्कने अनुमति छ। न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नले देश कोरोना भाइरसमुक्त घोषणा गर्नु निकै ठूलो कुरा भएको र साथसाथै अझै सचेत हुनुपर्ने बताएकी थिइन्। उनले यो अवस्था लगातारको प्रयासबाट नै सम्भव भएको बताएकी थिइन्।
कोरोना महामारी नियन्त्रण गर्न सम्बन्धमा न्युजिल्याण्डको प्रयासको चौतर्फी सराहना भइरहेको छ, न्युजिल्याण्डले महामारीको सुरुवातमा नै आफ्नो सीमा बन्द गर्दै देशव्यापी लकडाउन लागू गरेको थियो। न्युजिल्याण्डमा थप दुई जनामा कोरोना सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ६ पुगेको छ, सङ्क्रमणबाट अहिलेसम्म २२ जनाको ज्यान गएको छ।



लोकपाटी न्यूज

