काठमाण्डौ, ३२ जेठः विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७९ लाख नाघेको छ। विश्वका दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ७९ लाख ६ हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका हुन्।
सङ्क्रमितमध्ये ४० लाख ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् भने चार लाख ३२ हजार नौ सयभन्दा धेरैले ज्यान गुमाएका छन्। अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २१ लाख ४३ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख १७ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ।
कोरोनाबाट धेरै सङ्क्रमित हुने देशहरुमा दोस्रोमा ब्राजिल र तेस्रोमा रुस रहेका छन्। चौथो नम्बरमा रहेको छिमेकी देश भारतमा तीन लाख २२ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएको छ। भारतमा कोरोनाको कारण नौ हजार दुई सयभन्दा धेरैको ज्यान गएको छ भने एक लाख ६३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।
यस्तै अर्को छिमेकी देश चीनमा दुई महिनापछि एकैदिन सबैभन्दा धेरै सक्रमित भेटिएका छन्। गएको अप्रिल १३ पछि हिजो एकैदिन ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले जनाएको छ।
कोरोना भाइरसको उद्गम देश मानिने चीनमा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ८३ हजार एक सय ३२ पुगेको छ। जसमध्ये ७८ हजार तीन सय ६९ उपचारपछि निको भएका छन् भने चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ। एक सय २९ जना उपचार गराइरहेका छन्।



लोकपाटी न्यूज

