गुमेकाे नेपाली भूमि फिर्ता लिएरै छाेड्नेछाै‌ं : प्रचण्ड

prachanda_sansad
लोकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने बताएका छन्। प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताए।

उनले आजको दिनलाई राजतन्त्रले गुमाएको भूमिलाई गणतन्त्रले फिर्ता लिने ऐतिहासिक दिन रहेको बताएका छन्।शनिवार संविधान संशोधनको कार्यसूचीका साथ बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले राष्ट्रिय जिम्मेवारीका साथ अघि बढ्ने नेपालीको परम्परा रहेको बताए। शनिबार प्रतिनिधिसभा संसद बैठकमा प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताएका हुन्।

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं। राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ। ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ।’ प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।

‘यो कुनै व्यक्ति विशेषले गर्ने कुरा मात्रै पनि होइन। राष्ट्रिय सहमति बनाएर मात्रै यस्ता कुरा टुंग्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएको थिएँ,’ उनले भने। उनले अब कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताए। लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको प्रचण्डको भनाइ छ।