काठमाडौं, ३१ जेठ। सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ। कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ।
नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो। गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ। भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ। यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भएको जनाइएको छ।
त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ। जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपियाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ। त्यस्तै, क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपियाँ खर्च भएको छ। (गोरखापत्रबाट)



लोकपाटी न्यूज

