अस्मिना पाण्डे/ भैरहवा, ३० जेठ । रोहिणी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को लागि योजना तर्जुमा सुरु गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। आगामी आर्थिक वर्षमा गाउँपालिकाको प्राथमिकता निर्धारण कसरी गर्ने विषयमा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाइ अभिमुखीकरण प्रदान गरिएको छ।
कार्यक्रममा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बजेट तर्जुमा गर्न सहभागीहरुले सुझाव दिए। बैठकले आगामी आर्थिक वर्षमा पूर्वाधार बिकासको साथै कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बनाउने निर्णय गरेको गाउँपालिकाा प्रवक्ता सरोज कुमार पाण्डेले जानकारी दिए। कोभिड संक्रमणको ब्यपकताले श्रृजना हुन सक्ने परिस्थितिको आकलन गरि हाल स्थानिय तहको सम्पादन गरि रहेको क्वारेन्टाईन व्यवस्थापन, राहत वितरण, सचेतना कार्यक्रम, सुचना तथा तथ्यांक संकलन तथा सम्प्रेषण जस्ता कार्यहरुको लागी आवश्यकता पहिचान गरि आगामी बर्षको बजेटमा प्राथमिकताका साथ समावेश गर्ने तयारी रहेको पाण्डेले बताए।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले बिषयम परिस्थितिमा पनि संघिय सरकारले नेपालीलाई दुःख दिएको गुनासो गरे। उनले तेश्रो मुलुकबाट आउने नेपालीहरुबाट सरकारले चर्को हवाईभाडा र होटल खर्च असुल गरि रहेको बताउदै यसको लागी पनि स्थानिय सरकार तयारी अवश्थामा रहन् आग्रह गरे। अब बजेट बनाउदा अलपत्र परेका यस्ता गाउँपालिकावासीलाइ ध्यानमा राख्दै बजेट बनाउनु पर्ने उनले बताए।
यसको साथै आर्थिक रुपले विपन्न र विदेशबाट फर्किएका नेपालीहरुलाई रोजगारी उपलब्ध गराउने गरि श्रममुलक प्रविधिको प्रयोग गरि कार्यान्वयन हुने आयोजनाहरु छनौटलाई प्राथमिकतामा राख्न उनले वडा अध्यक्षहरुलाई आग्रह गरे। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले चालु आर्थिक बर्षको योजनाहरुलाई प्राथमिकतामा राखी अन्य बजेट बनाउने बताए।
असार सुरु हुनै लाग्दा धेरै उपभोक्ताहरु योजनालाई लिएर चिन्तित भएकोले यस बिषयमा कुनै चिन्ता नलिन न्यौपानेले आग्रह समेत गरेका छन्। अब योजनाको काम गर्न प्राविधिक रुपमा कठिनाई हुने हुदा सम्झौता भएका केही योजना बाहेक अन्य सबै काम अर्को आर्थिक बर्षमा गरिने उनले बताए। रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण योजना शाखाका प्रमूख राजकुमार मिश्रले गरेका थिए।



लोकपाटी न्यूज

