नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने जनता समाजवादीको निर्णय

janata_samajbadi
लोकपाटी न्यूज

काठमाडौं, ३० जेठः जसपाले नेपालले सरकारले संसदमा पेश गरेको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। संसदमा प्रस्तुत गरिएको ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको हो।अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय लिएको हो।

केहि दिनअघिमात्रै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको जसपाले सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको नेता केशव झाले जानकारी दिए। उनका अनुसार बैठकपछि पार्टीले अब संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सदस्यहरुलाई ह्‍विप जारी गर्नेछ।

भोलि बिहान ११ बजेका लागि संसदीय दलको बैठक पनि बोलाइएको छ । यससँगै भारतले हडपेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई आधिकारिकता दिने सरकारको प्रस्ताव दुईतिहाइ बहुमतसहित पारित हुने पक्का भएको छ। यसअघि नै जसपाले संसद बैठकमा संविधान संशोधन विधेयकको पक्षमा उभिने जनाएको थियो। तर औपचारकि निर्णय गरेको थिएन। यद्यपी दुई दिनअघि मात्र तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीले यो विधेयकविरुद्ध संसदमा संशोधनको सूचना दर्ता गरेकी छिन्। जुन अझैसम्म फिर्ता भएको छैन।

पार्टीले संशोधनको सूचना फिर्ता नलिए सांसद पदबाट नभई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सक्ने जसपाले स्पष्ट बताइसकेको छ। पार्टीको यो निर्णयसँगै गिरीमाथि संशोधनको सूचना फिर्ता लिन दबाब बढेको छ। आजको बैठकमा पनि सांसद गिरीको सम्बन्धमा छलफल भएको स्रोतले बताएको छ। नेता झाले उनले संशोधन फिर्ता नलिए कानुनअनुसार स्वतः कारवाही हुने कुरा दोहोर्‍याएका छन्।