काठमाडौं, २९ जेठः मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन्। प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका–१ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेका हुन्।अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत ११ वैशाखदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हवल्दार नेपालीसमेत बस्दै आएका थिए।
उनै नेपालीले धारिलो हतियार प्रहार गरेर सासूको हत्या गरेको र उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले जानकारी दिए। बिहान ४ बजे धारिलो हतियारले आक्रमण गरी हत्या गरेको र होहल्ला भएपछि स्थानीयवासीले थाहा पाई अभियुक्तलाई नियन्त्रणमा लिएको मकवानपुरगढी गाउँपालिका(१ का अध्यक्ष आइतसिंह लामाले जानकारी दिए।
हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्रहरी टोली पुगेको छ। प्रहरीले अभियुक्त नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको नायब उपरीक्षक रानाले जानकारी दिए। रानाका अनुसार पक्राउ परेका नेपालीले आफूले सासूको हत्या गरेको स्वीकार गरेका छन्।



लोकपाटी न्यूज
