काठमाडौं, २७ जेठः सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर बिना काम, बिना पास र अत्यावश्यक काम बाहेक सवारी साधनलाई ट्राफिक प्रहरीले थप कडाई गरी नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेर अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचमा कडाई बढाएको हो।
मंगलबार मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ३ हजार ६ सय ४७ वटा २ पाङ्ग्रे र ४ सय ६० वटा ४ पाङ्ग्रे गरी ४ हजार १०७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए। ‘आज विहान ६ बजेदेखि वेलुका ७ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो’, उनले भने। लकडाउन खुकुलो भन्ने गलत हल्लाको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोधसमेत गरेका छन्।
केहि दिन यता लकडाउन खुकुलो भएको ठान्दै सडकमा चहलपहल बढेपछि पुनः कडाई गर्न थालेको र पासको दुरूपयोग गर्नेमाथि पनि महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारवाही गर्न थालेको प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए। उनले काठमाडौं उपत्यकामा ११ चैतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४०६ वटा सवारी साधन नियन्त्रणमा लिइसकेको बताए।



लोकपाटी न्यूज