दाङ, २६ जेठः सोमवार दाङमा थप ३ जनामा कारोना संक्रमन पुष्टि भएको छ। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ। सोमवार बंगलाचुली गाउँपालिका वडा नं. १ निवासी ३१,४७ र ७० वर्षीय पुरुषमा कोरोना संक्रमन भेटिएको छ। उनीहरुको स्वाब संकलन महेन्द्र मावि स्यूजाको क्वारेन्टिनवाट गरिएको थियो। उनीहरु सबै छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन्। त्यस्तै भारतमै मृत्यु भएका घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ५९ वर्षीय अर्का एक पुरुष व्यक्तिमा आइतवार नै कोरोना पुष्टि भएको थियो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती व्यक्तिको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनको शवको व्यवस्थापन आइतवार नै गरिएको थियो। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार हालसम्म प्रतिष्ठानमा ५ हजार १ सय ५९ जनाको पिसिआर परिक्षण भएको छ।
प्रतिष्ठानमा नमुना संकलन ९ हजार ४ सय ६४ जनाको भएकोमा कोरोना पोजेटिभ रिपोर्ट १ सय ५८ रहेको छ भने नेगेटिभ रिपोर्ट ५ हजार १ जनाको आएको छ। त्यस्तै प्रतिष्ठानको प्रयोगशालामा ४ हजार ३ सय ५ जना परिक्षणको प्रकृयामा रहेको कामु रजिस्ट्रार कैलाशप्रशाद देबले जानकारी दिए।
उनले एक पटकमा ६ घण्टा लगाएर ९६ वटा परिक्षण गर्न सकिने र पिसिआर मेसिन थप्ने प्रकृयामा रहेकाले त्यसपछि थप सहजता हुने बताए। प्रतिष्ठानका चिकित्सक, कर्मचारी, ल्याब टेक्निसियनले उच्च मनोबलका साथ काम गरेको भन्दै उनले एउटै मेसिन हुदा हुदै पनि सिमित स्रोतसाधन प्रयोग गरेर परिक्षण भइरहेको बताए।



लोकपाटी न्यूज

