अरविन्द केजरीवाल विरामी, कोरोना संक्रमण भएको शंका

Arvind-kejriwal
लोकपाटी न्यूज

नयाँ दिल्ली, २६ जेठः भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन्। ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उनलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन्।कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनी सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थालेका छन्।

उनको भोलि मङ्गलबार कोरोना परीक्षण गरिने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। आइतबार दिउँसोदेखि उनले आफ्ना सबै बैठक तथा भेटघाटहरुलाई स्थगित गरेको जनाइएको छ। आम आद्मी पार्टीका नेतासमेत रहेका ५१ बर्षीय केजरीवाललाई कोरोनाभाइरसका बिरामीलाई देखिनेजस्तै लक्षण देखिएको र मङ्गलबार परीक्षण गर्ने तयारी भएको पार्टीका अर्का नेता तथा राज्य सभा सदस्य सन्जय सिंहले जानकारी दिए।

‘दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आइतबार दिउसोदेखि ज्वरो र घाटी दुख्ने लगायतका लक्षणहरु देखिएको छ, चिकित्सकहरुले कसैसँग सम्सर्गमा नरहने गरी अलग्गै बस्न सुझाव दिएका छन्,’ सिंहले भने। मुख्यमन्त्री केजरीवाललाई चाडै निको होस् भनेर आफुले कामना गरेको र कोरोनाभाइरस नलागेको विश्वास व्यक्त गरे।

उनी छुट्टै बस्न थालेर भेटघाट तथा बैठकहरु स्थगित गरेपनि दिल्ली सरकारको काम कारबाहीमा कुनै असर नपर्ने समेत सिंहले दावी गरे। भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अहिलेसम्म २८ हजार ९३६ जना सङ्क्रमित भएका छन् भने कोरोनाका कारण दिल्लीमा मात्रै ८१२ जनाको मृत्यु तथ्याङ्क राज्य सरकारको छ।