धेरै पिसीआर परीक्षण गर्न सक्दैनौं : मन्त्री ढकाल

लोकपाटी न्यूज

काठमाडौं, २६ जेठ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले धेरै पीसीआर परीक्षण गर्न नसक्ने बताएका छन्। सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले असार १५ अघि कोरोना भाइरस संक्रमण परीक्षणको दर बढाउन नसक्ने बाध्यतामा रहेको बताएका हुन्।

आवश्यकताअनुसार पीसीआर परीक्षण गर्ने क्षमता नभएको भन्दै मन्त्री डकालले असार १५ गतेदेखि दिनमा १० हजार स्वाब परीक्षण गर्न सक्ने बताए। मन्त्री ढकालले सात प्रदेशमा एकै साथ ठूला मेसिन किन्ने योजना बनाएको जानकारी दिए। अहिले नेपालमा १ लाख भन्दा बढीको पीसीआर परीक्षण भएको भन्दै मन्त्री ढकालले नेपालको परीक्षणको अवस्था एसियामै राम्रो रहेको बताए।

आरडीटी विधिको परीक्षणलाई नेपालमा मान्यता नदिएको भन्दै मन्त्री ढकालले १४ दिन क्वारेन्टिनमा बसेपछि एन्टीबडी छ कि छैन भनेर मात्र आरडीटी परीक्षण गरेको बताए। मन्त्री ढकालले भने, ‘एउटा दुईटा गर्दै दिनमा ४७ सय परीक्षण गर्न सक्ने ठाउँमा छौं। असार १५ सम्म १० हजार पीसीआर रिपोर्ट दिन सक्ने अवस्थामा पुग्नेछौं।’ मन्त्री ढकालले कोरोना संक्रमित व्यक्तिले १० दिनपछि समुदायमा कोरोना भाइरस फैलाउन नसक्ने हुनाले क्वारेन्टाइनबाट पीसीआर परीक्षणबिनै घर पठाइएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्