बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन मिल्दैन : मन्त्री तुम्बाहाङ्फे

Shivamaya Tumbahamphe
मनहरि तिमिल्सिना

काठमाडौं, २६ जेठ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानून बनाउन नसकिने र यो संविधान विपरित हुने बताएकी छिन् ।

सोमबार प्रतिनिधि सभामा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले नेपालको संविधानले नै मृत्युदण्डमाथि निषेध गरेको बताएकी हुन्।

संविधान, विस्तृत शान्ति सम्झौता र सर्वोच्च अदालतको निर्देशनात्मक आदेश, मानव अधिकार तथा मानवीय कानुनको विश्वव्यापी मान्यता तथा संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार पीडितको मागको सम्बोधन गरिने उनले बताइन्।

मौलिक हक कार्यान्वयनमा सरकार जुटेको भन्दै उहाले मौलिक हकसँग सम्बन्धित १६ वटा ऐन निर्माण भएको, त्यसमध्ये २ वटाको नियमावली बनाउन आवश्यक नरहेको र २ वटाको नियमावली बन्ने प्रक्रियामा रहेको जानकारी दिइन्।

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा कानुन मन्त्रालय सहमत रहेको भन्दै मन्त्री तुम्बाहाङ्फेले कानुन संशोधनका लागि सहमति माग भएको अवस्थामा कानुन मन्त्रालयले सहयोग तथा सहजीकरण गर्ने जिकिर गरिन्।