दाङमा स्वाब संकलन स्थगित

corona test
लोकपाटी न्यूज

दाङ, २६ जेठ। दाङमा एकसाताका लागि स्वाब संकलन स्थगित गरिएको छ। एकसाताका लागि कोरोना भाइरस (कोभिड– १९) आशंका गरिएका व्यक्तिहरुको स्वाब संकलन स्थगित गरिएको हो।

संकलन भएका स्वाबहरु परीक्षण गर्न बाँकी रहेको र जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठिानमा स्थापना गरिएको प्रयोगशालामा चाप बढेपछि स्वाब संकलनको काम स्थगित गरिएको हो। प्रतिष्ठानमा अहिले पनि पीसीआर विधिबाट परीक्षणका लागि १ हजार ७०० भन्दा बढी स्वाब परीक्षणको प्रक्रियामै रहेको प्रतिष्ठानका काम रजिष्टार कैलाशप्रसाद देवले बताए।

उनका अनुसार प्रक्रियामा रहेका स्वाब जाँच गर्नका लागि कम्तिमा एक साता लाग्ने भएकाले त्यो समयसम्म चाप नथपियोस् भन्ने उद्देश्यले एक साताका लागि स्वाब संकलनको काम स्थगित गरिएको हो। प्रतिष्ठानमा रहेको पीसीआर मेसिनले एक पटकमा ९६ जनाको मात्रै स्वाब परीक्षण गर्न सक्छ। यही अनुपातमा परीक्षण गर्ने हो भने एक दिनमा करीब २०० ओटा मात्रै स्वाब परीक्षण गर्न सकिने कामु रजिष्टार देवले बताए।

घोराही उपमहानगरपालिकामा मात्रै संकलन भएका करीव ७०० ओटा स्वाब अहिले पनि परीक्षणकै प्रक्रियामा रहेको र संकलन गरिएको स्वाब परीक्षणका लागि एक साता लाग्ने भएपनि स्वाब संकलनको काम तत्कालका लागि स्थगित गरिएको घोराही उपमहानगरपालिकाका कोभिड–१९ फोकलपर्सन विकेश रेग्मीले जानकारी दिए ।

दाङसहित, रोल्पा, प्यूठानलगायतका जिल्लामा संकलन भएको स्वाब पनि परीक्षणका लागि यहाँ ल्याउने गरिएको छ। प्रयोगशालामा संकलन भएका स्वाबको परीक्षणमा चाप कम हुनसाथ पुनः स्वाब संकलनको काम शुरु गरिने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्