हवाइभाडामा भारी छुट, यस्तो छ नयाँ भाडादर

plane
लोकपाटी न्यूज

काठमाडौं,२६ जेठः वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाईजहाजको भाडा घटाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन संघलाई पत्राचार गरेपछि हवाई भाडादर घटाइएको हो । यसअघि आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो। त्यसपछि भाडादर पनि घटाइएको हो। नयाँ भाडादर अनुसार काठमाडौं माउन्टेन उडानका लागि ८६० घटाएर २ हजार २३० रुपैयाँ कायम गरिएको छ।

काठमाडौँ-भद्रपुरको ७५० घटाइ १ हजार ९५० रुपैयाँ बनाइएको छ। काठमाडौं–विराटनगर गन्तव्यमा साविकको २ हजार १६० बाट ६०० घटाएर १ हजार ५५० रुपैयाँ कायम गरिएको छ। पोखराको २७० घटाएर ६९५ बनाइएको छ । काठमाडौँ-धनगढीको साविकको ३ हजार ९७५ बाट १ हजार १०५ घटाई २ हजार ८७० रुपैयाँ निर्धारण गरिएको छ । काठमाडौं-नेपालगञ्जको ८१५ रुपैयाँ घटाई २ हजार ११५ रुपैयाँ बनाइएको छ।

संघमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणाली अनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको संघका महासचिव योगराज कँडेल शर्माले बताए। कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ। चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तराष्ट्रिय उडान तथा चैत ११ देखि आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लो पटक असार १६ सम्म उडान स्थगन गरिएको छ। आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्