काठमाडौं, २३ जेठ। नेपालमा सलहको जोखिम कम भएको प्राविधिक टोलीको निष्कर्ष निकालेको छ। सलहको सम्भावित प्रकोपबारे अध्ययन गर्न कृषि मन्त्रालयले गठन गरेको प्राविधिक टोलीले नेपालमा सलह आउने जोखिम कम भएको निष्कर्ष निकालेको हो।
मनसुनका कारण पनि नेपालमा जोखिम घटेको उनको भनाइ छ। यो वर्ष पूर्वी अफ्रिकाबाट सुरु भएर मध्यपूर्व, पाकिस्तान हुँदै भारत प्रवेश गरेको थियो। तर, सलहको विशाल समूह स-साना समूहमा विभाजन भएको र हावाको बहावले दिशा परिवर्तन गरेको हुनाले नेपालमा जोखिम न्यून भएको सो टोलीको निष्कर्ष छ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख तथा प्राविधिक टोलीका संयोजक वासुवेद हुमागाईंले अहिले सलह भारत प्रवेश गर्दा जतिको विशाल समूहमा नरहेको बताए। हुमागाईंले इटलीको रोममा रहेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले पनि पछिल्लो अवस्थामा नेपाल र बंगलादेशमा सलहको जोखिम कम भएको जानकारी गराएको बताए।
एफएओका सलह विज्ञ डा. किथ क्रिसम्यानका अनुसार उक्त सलहको समूह उत्तरबाट दक्षिणतर्फ जाने क्रममा विखण्डित भई सानासाना समूहमा भारतका अन्य भागतर्फ मोडिएकोले हाल नेपाल भित्रिने सम्भावना न्यून भएको जानकारी गराएका हुन्। पछिल्लो पटक २०१९ सालमा काठमाडौं उपत्यका र त्यसको आसपासको क्षेत्रमा सलह आएको र त्यसले बालीनाली नष्ट गरेको थियो। त्यस समयमा नेपाल आएको सलहको नमूना अहिले पनि संग्राहालयमा छ।



लोकपाटी न्यूज
