काठमाडौं, २३ जेठ । पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाको थप अनुसन्धानका लागि प्रहरीले चौरजहारी नगरपालिका ८ सोतीबाट थप सात जनालाई पक्राउ गरेको छ। ४० वर्षीय नेत्रहादुर मल्ल, ३० वर्षीय धनराज राना, २४ वर्षीय विराज पुन, रमित पुन, २२ वर्षीय भीम पुन र २१ वर्षीय नवीन घर्ती पक्राउ परेका हुन्।
उनीहरु पक्राउ परेसँगै पक्राउ पर्ने आरोपितको संख्या २५ पुगेको छ। यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकालाई बिहीबार राति जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुम मुसिकोट पुर्याइएको छ।
यसअघि चौरजहारी ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका भनिएकी किशोरीसहित उनका बाबु वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ललगायत १८ जना पक्राउ परिसकेका छन्। पीडितको तर्फबाट वडाध्यक्ष मल्लसहित २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको थियो। किटानी जाहेरी परेकामध्ये दुई जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
आरोपितहरूको पोलिग्राफसमेत परीक्षण गर्ने प्रहरीले बताएको छ। सरकारले गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा गठन गरेको छानविन समिति पनि अहिले रुकुममै बसेर काम गरिरहेको छ।



लोकपाटी न्यूज
