काठमाडौं, २२ जेठ। लकडाउन खुकुलो बनाउन उपत्यकाका तीन प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरकाले सिफारिस गरेको छ। आज बसेको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको हो।
आजदेखि उद्योगीरव्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको बैठकले लकडाउन खुकुलो बनाउन सिफारिस गरेको हो। बैठकले सार्वजनिक यातायात, हवाई सेवा, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउने निष्कर्ष निकालेको हो।
बैठकले विद्यालयरविश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभारसम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए।
तीनवटै जिल्ला प्रशासन, सुरक्षा अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सीसीएमसी र उच्चस्तरीय समितिमा पठाउन काठमाडौं प्रशासनलाई जिम्मा दिइएको छ। केही बेरमा तीनवटै प्रशासनका तर्फबाट पारित भएको निर्णय अनुमोदनका लागि गृह मन्त्रालयमार्फत् सीसीएमसी र उच्च्सतरीय समितिमा पठाइने ती अधिकारीले बताए। यसैबीच आजै ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने विषयमा छलफल गर्नेछ।


लोकपाटी न्यूज

