काठमाडौं। चीनबाट हुने व्यवसायीक उडानमा अमेरिकाले प्रतिबन्ध लगाउने भएको छ। जुन १६ देखि चीनबाट हुने यात्रुसहितको उडानमा प्रतिबन्ध लगाउने अमेरिकाले तयाारी गरेको हो। योसँगै विश्वका दुई ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनबिचको तनाव अर्को तहमा पुग्ने देखिएको छ।
कोरोना भाइरसको महामारीका कारण चीनले केही समयअघि अमेरिकाबाट हुने उडानलाई रोक लगाएको थियो। त्यसको जवाफ स्वरुप अमेरिकाले चीनबाट हुने व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको यातायात विभागले जनाएको छ।
कोरोना भाइरसको महामारी र हङकङमा चीनको नीति लिएर अमेरिका र चीनबिच पछिल्ला हप्तामा तनाव बढेको छ। यातायात विभागले एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्स र हाइनान एयरलाइन्सबाट हुने व्यवसायिक उडानमा प्रतिबन्ध लगाउन भनेको छ।
यी एयरलाइन्सहरुले महामारीका बेला पनि सीमित तहमा उडान नियमित गरिरहेका छन् । उडानमा प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्तावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमति चाहिन्छ। ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चीनले कमजोर प्रयास गरेको भन्दै आलोचना गर्ने गरेका छन्।



लोकपाटी न्यूज

