मगरको घरमा विश्‍वकर्मा पसेपछि तिराइयो जरिवाना

लोकपाटी न्यूज

गुल्मी, २१ जेठ, कालीगण्डकी गाउँपालिका फोक्सिङमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना गराइएको छ। वैशाख २२ गते मलामी गएर फर्किएका २७ वर्षीय श्यामबहादुर परियार ठूलो पानीको कारण ओत लाग्‍न स्थानीय ४३ वर्षीय नेत्र काउछाको घरमा पसेका थिए।

घरधनी काउछासहितका स्थानीयले मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पूजापाठ गराउनुपर्ने भन्दै १५ सय जरिवाना गराएका थिए। श्यामबहादुरले आफू दलित भएकै कारण विभेद गरी जरिवाना गराइएको भन्दै जातीय छुवाछुतविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा मुद्दा दर्ता गराएका छन्। पीडित परिवारले जिल्लाका दलित संघसंस्थाको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए। मुद्दा दर्ता गरेर आवश्यक प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीले नेत्र काउछालाई जेठ ६ गते प्रक्राउ गरेर अनुन्धान गरिरहेको जनाएको छ। काउछालाई गुल्मी अदालतको अनुमति लिएर प्रक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए। दलित भएकै कारण गैरदलितको घरमा प्रवेश गर्दा जरिवाना गराइनु कानुनविपरीत भएको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए।

कानुनअनुसार जरिवाना गर्ने, कुटपिट प्रयास गर्ने कार्य जातीय भेदभाव तथा छुवाछुत कसुर ऐनविपरीत र गम्भीर मानव अधिकार उल्लंघनको घटना भएको भन्दै दलित साझा मञ्च, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित संघ, दलित महिला संघ, परियार समाज, इन्सेक र मानव अधिकार तथा सामाजिक रुपान्तरणलगायतले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

विश्‍वकर्मा दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले पहिले पनि उक्त क्षेत्रमा जातीय भेदभाव घटना भइरहेकाले अब सम्झौता गर्न नसकिने बताएका छन्। समानतका कुरा गरे पनि व्यवहारमा त्यो हुन नसकेको उनी बताउँछन्। संविधानमै छुवाछुतविरुद्ध मौलिक हक भए पनि कार्यान्वयन हुन नसकेको प्रति उनले दुस्ख व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्