कांग्रेस सांसदहरु पुगे संसद सचिवालय

piii
लोकपाटी न्यूज

काठमाडौं, २० जेठ। नेपाली कांग्रेसका केहि सांसदहरु मंगलबार दिउँसो संसद सचिवालय सिंहदरबार पुगेका छन्।संविधान संशोधनको प्रस्ताव लिएर उमाकान्त चौधरी, चित्रलेख यादव, डा. अमरेश कुमार सिंह, तेजुलाल यादव लगायत सांसदहरु संसद पुगेका हुन्।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेकै बेला दर्ता भएको विधेयक तत्कालीन नेकपा एमालेले सहमति नजनाएपछि सफल हुन सकेको थिएन। सोही विधेयक काँग्रेसले ब्युँताउन लागेको हो। त्यतिबेला संविधान संशोधन गराउने सहमतिमै देउवा सरकारले स्थानीय निर्वाचन गराएका थिए। संशोधन विधेयक दर्ता गर्न अहिले कांग्रेस संसदीय दलको कार्यालयमा छलफल गरिरहेको सांसद उमाकान्त चौधरीले बताए।

‘एकपटक संघीय संसद सचिवालयका महासचिवलाई भेटिसक्यौं, आजै दर्ता पनि हुनसक्छ, छलफल गर्दैछौं,’ चौधरीले भने। नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले देउवा नेतृत्वको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन गर्ने निर्णय गरेको थियो।