मनसुन जुन १० तारिखको आसपासमा नेपाल भित्रिने

mansun
लोकपाटी न्यूज

काठमाडौं, २० जेठ, यसअघि एक हप्ता ढिलो गरी मनसुन भित्रिने भनिए पनि अहिले अरब सागरमा न्यूनचापीय प्रणाली विकास भएकाले जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए।

उनका अनुसार भारतको केरलासम्म मनसुन भित्रिसकेकाले पनि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो। दक्षिण पूर्वी अरब सागरमा रहेको न्यूनचापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र चक्रवात बन्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मनसुन समयमा नै भित्रिए बालीनालीलाई एकै पटक सखाप पार्ने फौजी किरा पनि नेपाल प्रवेश गर्न नपाउने विज्ञले बताउँदै आएका छन्।

यो प्रणाली उत्तरपूर्व सर्ने क्रममा रहेकाले नेपालका केही ठाउँमा बिहीबारदेखि तीन दिन वर्षा हुने अनुमान गरिएको मौसमविद् कँडेलले बताए । यस्तै यही प्रणालीको प्रभावका कारण पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ। आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ। तर बिहीबार प्रणाली र पश्चिमी वायुको प्रभावका कारण बेलुका पख केही पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्