विराटनगर, १९ जेठ । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मूख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ।
स्वास्थ्य सामाग्री मूख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को-अर्डिनेटर मुकेश उपाध्यायले हस्ताण्तरण गरेका हुन्। करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्राप्त भएको स्वास्थ्य सामग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन्।
त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकलमाक्स २० हजार, सर्जिकलग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ।
यी उपलब्ध भएका स्वास्थ्य सामग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मूख्यमन्त्री राईले बताए। हामी प्रदेशका धेरै भन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं, प्राप्त भएका सामग्रीहरुले थप सहयोग पुगेको उनको भनाइ छ। साथै सामग्री उपलब्ध गराएको तीब्बत सरकारलाई मूख्यमन्त्री राईले धन्यवाद दिए। प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तिब्र बनाएको छ। प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ। प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड-१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किएका छन्।



लोकपाटी न्यूज

