रमेस भुसाल/ नवलपरासी, १७ जेठ। रुकुमको चौरजहरीमा दलित युवासहित पाँच जनाको मृत्यु भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागि संसदिय समिति गठन गर्न विभिन्न संघसंस्थाहरुले जोडदार माग गरेका छन्। आज बिहान मानव अधिकार तथा शान्ति समाज नवलवरासीले बर्दघाट नगरपालिका ४ बर्दघाट चौकमा आयोजना गरेको कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले घटनामा अनावश्यक राजनीति गर्न नहुने बताएका हुन्।
कार्यक्रमका प्रमूख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले घटनाको सत्य तथ्य अन्वेषण गर्न संसदीय समिति गठन गर्नुपर्ने बताए। उनले भने, ‘रुकुमको घटना मानव सभ्यताकै विरुद्धको घटना भएकोले हामी कंलकित भएका छौं। हाम्रो शिर निहुरीएको छ। सरकारले गम्भिर रुपमा लिदै दोषीलाई कारवाही र पिडितलाई न्याय नहुँदासम्म आन्दोलन जारी रहनेछ।’
कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनालले सरकारले अहिले गठन गरेको समितिमा आम जनताले सामाजिक न्याय पाउने अपेक्षा गर्न नसक्ने बताउदै उनले यो घटनामा सरकार गम्भिर नभएको बताए। रुकुमको घटनामा सरकार गम्भिर छैन, सरकार गम्भिर भएर छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने खनालले बताए। कार्यक्रममा नेपाल पत्रकार सहासंघ नवलपरासीका कोषाध्यक्ष रविलाल पाण्डेय, दलित संघका राजेन्द्र सुनार लगायतका वक्ताहरुले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताए।
मानव अधिकार तथा शान्ति समाज नवलवरासी शाखाका सभापति सन्तोष अधिकारीको सभापतित्वमा रहेको कार्यक्रममा कार्यक्रमको औचित्य एवं स्वगत कार्यसमिति सदस्य प्रकाश न्यौपानेले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गणेश न्यौपानेले गरेका थिए।
मानव अधिकार तथा शान्ति समाज नवलवरासी शाखाको आयोजनामा भएको कार्यक्रममा, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, मगर संघ, दलित संघ, सुनचादि व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पेटोलियम व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम उपस्थित सम्पुर्णले जातिय भेदभावको अन्त्य गरौं, रुकुमको घटनामा संसदीय समिति गठन गर, दोषिलाई पत्ता लगाई कारवाही गर, छुवाछुतको अन्त्य गर लेखिएका प्ले काड लिएका थिए।



लोकपाटी न्यूज
