काठमाडौं, १५ जेठ। यतिबेला हानिकारक किरा प्रजाति सलहको जोखिम बढेको छ। अफ्रिकी मुलुकहरू केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, डिबोटी, इथियोपिया, इरान र पाकिस्तान हुँदै भारतसम्म सलहको प्रकोप देखा परिसकेको छ।
भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात हुँदै उत्तर प्रदेशका विभिन्न भागमा सलह देखापरिसकेको छ। सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै र मसला बालीमा क्षति र्पुयाइसकेको छ। कोरोना भाइरसको महामारीविरुद्ध जुधिरहेको बेला बाली सखाप गरिदिने सलह नेपाल नजिक आइपुगेको छ। तर, चाँडै सुरु हुने मनसुनी वर्षाले यो किरालाई रोक्न सक्ने झिनो आशा रहेको विज्ञहरुले बताएका छन्।
दक्षिण अफ्रिकाबाट फैलिएको सलह दिल्लीसम्म आइपुगेकाले सुदूरपश्चिमबाट नेपाल पस्न सक्ने संभावना छ। यो किरा हावाको गतिसँगै उड्छ । त्यसैले हावापानी प्रतिकूल भए नेपाल पस्न नसक्ने संभावना पनि छ। मनसुनी वर्षामा हावा पश्चिमतिर बग्ने हुँदा यसलाई रोक्न सक्ने सलहबारे अध्ययन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बनाएको समितिका संयोजक तथा प्लान क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईं बताउँछन् । नेपालमा प्रिमनसुन सुरु भइसकेको छ। अबको १० दिनमा मनसुन सुरु भइसक्छ।
पश्चिम बंगालबाट उत्पन्न हुने वायुको प्रभावले नेपालमा मनसुनी वर्षा हुन्छ। मनसुनी वर्षाको समयमा पूर्वबाट पश्चिमतर्फ हावा बहने भएकाले हावासँगै उड्ने यो किरा नेपाल प्रवेश गर्न नसक्ने झिनो आसा भएको हुमागाईं बताउँछन् । सलहको जीवनचक्रका लागि नेपालमा उपयुक्त हावपानी भने छैन। तर, यो पसिहाले बालीमा ठूलो क्षति र्पुयाउन सक्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसी अनुमान गर्छन्।
सलहको उत्पत्तिको प्रमुख स्रोत अफ्रिका महादेशमा भए पनि यिनीहरुको संख्यामा भएको बढोत्तरीसँगै खानाको खोजीमा टाढासम्म पुग्न थालेका हुन्। यो किरा एक दिनमा ५०० किलोमिटर टाढासम्म उडेर जान सक्छ। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनको तथ्याङ्क अनुसार एउटा किराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ। एक किलोमिटरको हुलमा हुने सलह करीब चारदेखि आठ करोड संख्यामा हुन्छन्। यो किराले ३५ हजार जनालाई पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन्।
हरिया वनस्पति र अन्नबाली नोक्सान गर्ने सलह किराको प्रकोप सामना गर्न सरकारले तयारी सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्लान क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंको संयोजकत्वमा काठमाडौंमा उपलब्ध रहेका कृषि प्राविधिक सम्मिलित समिति बनाएको छ। मन्त्रालयका सह–सचिव केसीका अनुसार सलहले पार्न सक्ने सम्भावित जोखिम, गर्न सकिने न्यूनीकरण तथा नेपालमा सलह आउन सक्ने वा नसक्ने सम्भावनाबारे समितिले अध्ययन गर्ने छ। विज्ञहरुका अनुसार यो किरा प्रवेश र्गयो भने तत्काल नियन्त्रण गर्न सक्ने क्षमता नेपालसँग छैन । त्यसकारण अहिले गठित समितिले यसले क्षतिको सम्भावित आँकलन मात्र गर्छ ।



लोकपाटी न्यूज
