काठमाडौं। अहिले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा निकै जोडसँग उठेको छ। तर, यो विषयमा पहिलोचोटि भारतीय प्रधानमन्त्रीसँग ठाडठाडै कुरा गर्ने नेता को थिए ? खोजी र चर्चा गरिएको छैन।
२०५४ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा तत्कालिन नेकपा (एमाले) का तर्फबाट उपप्रधान तथा गृहमन्त्री बन्नुभएका वामदेव गौतमले हो, पहिलोपटक भारतीय संस्थापनसँग कालापानीबारे कडिकडाऊ कुरा गरेका।नेपाल भ्रमणमा आएका तत्कालिन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालसँग गरिने वार्ता र सम्झौताको सूचीमा कालापानीको विषय थिएन। सामान्यतया औपचारिक भ्रमणमा आउने कुनै देशका राष्ट्र वा सरकार प्रमूखसँग निर्धारित सूचिभन्दा बाहिर गएर कुरा गरिँदैन, गर्ने प्रचलन हुँदैन।
तर, राष्ट्रियताको विषय भएपछि वामदेवले त्यो धैर्यता राख्न सक्नुभएन। र, गुजरालसँग भने, ‘महामहिम, म अलिकति फरक विषयमा कुरा गर्न चाहन्छु।’ गुजरालले अनुमति दिएपछि वामदेवले भने, ‘सबैखाले प्रमाणहरुले कालापानी नेपाली भूभागमा पर्छ भन्ने पुष्टि हुन्छ। तर, त्यहाँ वर्षौंदेखि भारतीय सेना क्याम्प खडा गरेर बसेको छ। यो कुरालाई नेपालीले आफ्नो राष्ट्रिय अस्मितासँग जोडेर हेर्ने गरेका छन्। त्यसैले त्यहाँबाट भारतीय फौज हट्नुपर्यो ।’
वामदेवले ‘दसी प्रमाणहरु संकलन गरेर छलफल गरौँ’ भनेपछि प्रधानमन्त्री गुजराल गम्भीर भए। ‘दिल्ली फर्किएर छलफल गराउँछु’ भन्ने जवाफ पाएपछि वामदेव चूप लागे। दिल्ली गएर गुजरालले त्यहाँको सीमा समस्या समाधान कमिटीलाई तताए। बीचैमा उनको सरकार ढल्नाले त्यो मुद्दा अझै सुल्झिएन। जनआस्था साप्ताहिकबाट



लोकपाटी न्यूज

